काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनबाट हुने भिजिट भिसाको असुलीसम्बन्धि सेटिङको छानविन अन्तिम चरणमा पुर्याएको छ ।

भिजिट भिसाको सेटिङ मिलाउने समुहमा गैरआवासिय नेपाली संघ (एनआरएन) का नेता समेत मुछिएका छन् ।

मलेसिया बस्ने एनआरएन आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेमाथि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

अध्यागमनका तत्कालिन प्रमुख तिर्थराज भट्टराईसँग मिलेर सेटिङ मिलाउने ट्राभल व्यवसायी बालकृष्ण खड्काका न्यौपाने पार्टनर हुन्।

उनीहरुको ग्रिनलाइन र स्मार्ट होलिडेगरी दुई वटा ट्राभल एजेन्सी छ। एउटा मेनपावर कम्पनी पनि छ । भिजिट भिसामा विदेश पठाउने मुख्य गिरोह नै उनीहरु भएको अख्तियारको छानविनमा देखिएको छ ।

सहसचिव भट्टराईलाई गत ६ जेठमा अख्तियारले नियन्त्रणमा लिई छानविन थालेको थियो। जसक्रममा खड्काले नै उनलाई भिजिट भिसामा पठाउनेहरुको सूची ह्वाट्सएपमा पठाउने गरेको खुलेको छ ।

उनीहरुबिच आर्थिक लेनदेन भने उत्तरढोकाको एक रेष्टुरेन्टमा हुने गर्दथ्यो। त्यो खड्काले नै सञ्चालन गरेको रेष्टुरेन्ट हो । आयोगले भट्टराई पक्राउ परेकै दिन ग्रिनलाइन होलिडेजका बालकृष्ण खड्का र सहसचिव भट्टराईको पैसा कारोबार मिलाउने खगेन्द्र सुवेदी र कविता पौडेललाई पक्राउ गरेको थियो ।

भट्टराईले सुवेदी र पौडेलमार्फत पैसा लिएको खुलेको छ । भट्टराईको डायरीमा करोडौँ लेनदेनको प्रमाण पनि भेटिएको छ ।विदेश जानेहरुको काम भने न्यौपानेले समेत ल्याउने गरेको आयोगको छानविनमा खुलेको अख्तियार स्रोतले बतायो ।

न्यौपाने हाइड्रो व्यवसायी समेत हुन्। उनी विकास हाइड्रो नामक कम्पनीका पनि अध्यक्ष हुन् । स्रोतका अनुसार उनीहरुको सम्पत्तिको स्रोतमाथि पनि अख्तियारले छानविन थालेको छ ।

भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने अधिकार हाल अख्तियारलाई छ । सोही आधारमा उनीहरुको कालोधनमाथि छानविन सुरु भइसकेको छ ।

अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेसँगै पहिलो चरणमा भट्टराई र उनका सहयोगीविरुद्ध मात्र मुद्दा चल्ने अख्तियार स्रोतले बताएको छ ।

विगतमा भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका अधिकृत विमल पौडेललाई गृहमन्त्री रमेश लेखकले आफ्नै सचिवालयमा राखेका कारण पौडेल पनि अख्तियारको छानविनमा तानिएका छन् ।

सहसचिव भट्टराईले गृह मन्त्रालयकै आडमा अध्यागमनमा भिजिट भिसाको असुली चलाएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर