काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो ।

जसमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गरे ।‘हाम्रो भनाइ र सोचाइ काम समयमा सक्नुपर्छ भन्ने हो । ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिबद्ध छौं । अहिले करिब करिब ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन्,’ उनले भने ।

२०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको उनले बताए । अब बनाउनुपर्ने कामहरु छिटो सकिने किसिमका रहेकाले द्रूत गतिमा काम अघि बढ्ने उनले बताए ।‘धेरै जसो समय ईआईए गठन, टेण्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ । समस्या समाधानहरू हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिनसक्छ,’ प्रधानसेनापति सिग्देलले भनेका छन् ।

प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरू खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीयहरूबाट नहुने पनि बताए ।‘काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौं । खोकना प्रस्थान बिन्दु पनि हो ।

६.५ किलोमिटरसम्म लम्बाइ छ,’ उनले भने, ‘ऐतिहासिक र धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि किरियापुत्री बस्ने ठाउँहरू छन् । त्यसलाई छोडेर नै नयाँ डीपीआर तयार पारेका छौं ।’अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको उनले बताए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर