काठमाडौं । नेपाल प्रहरी संगठनभित्र जनशक्ति व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २,३६९ जना प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। यो संख्या अनिवार्य अवकाश पाउने ५२३ जनाको संख्याभन्दा चार गुणाभन्दा बढी हो।

नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरणले संगठनभित्रको निराशाजनक अवस्थालाई उजागर गरेको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले प्रस्तुत गरेको तथ्याङ्कअनुसार कुल ७९,५४१ दरबन्दीमध्ये हाल ४,७३५ पद रिक्त छन्।

बैंकिङ कसुर र साइबर अपराधको दबदबा

प्रगति विवरणले नेपालमा अपराधको स्वरूप तीव्र गतिमा परिवर्तन भइरहेको देखाएको छ।

गत आर्थिक वर्षमा देशभर दर्ता भएका कुल ५८,४७२ मुद्दामध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा छन्। कुल १३,८३७ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। यो १० मुख्य अपराधको शीर्ष स्थानमा छ। यसमध्ये अधिकांश (५८.३९%) काठमाडौं उपत्यकामा मात्रै दर्ता भएका छन्।

यसैगरी, साइबर अपराधका उजुरीमा आर्थिक ठगी सबैभन्दा अगाडि देखिएको छ। कुल १८,९२६ उजुरीमध्ये ७,७२३ वटा आर्थिक ठगीसँग सम्बन्धित छन्।

साइबर अपराधमा १९ देखि २५ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी पीडक देखिएका छन् भने २६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी पीडित बनेका छन्।

प्रवक्ता घिमिरेले प्रहरी संगठनले सीमित स्रोत र साधनका बीच शान्ति सुरक्षा, अपराध नियन्त्रण र नागरिक सेवामा उत्कृष्ट काम गरिरहेको बताए।

उनले प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई अझै बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया!!

सम्बन्धित खबर