काठमाडौं । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा चितवनका रामहरि सिलवाल काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनलाई नियन्त्रणमा लिएर भैरहवा पठाउने तयारी थालिएको हो । कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार सिलवाल पेशाले कलेज सञ्चालक हुन् र निजी विद्यालय सञ्चालक संगठन (हिसान) का उपाध्यक्ष समेत रहेका छन्।
सिलवाल पत्रकारिता र नेकपा एमालेको राजनीतिमा समेत सक्रिय थिए । उनी एमालेको चितवन–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्षसमेत रहेका छन् ।यसै प्रकरणमा सहकारीका अध्यक्ष अशोक केसी पनि आज भक्तपुरको गठ्ठाघरबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार सहकारी घोटालामा संलग्न अन्य फरार व्यक्तिहरुको पनि खोजी भइरहेको छ।







