काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।

विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा कोइरालाले दुई दल मिलेर बनेको सरकारको पनि जनताले अनुभूति गर्न नसकेको बताएका हुन् ।
कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको जिकिर गरे । उनले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।
कार्यक्रममा राजनीति तर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिक तर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मान गरिएको थियो ।यसैगरी प्रतिभा तर्फ डा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मानपत्र प्रदान गरेका छन् ।







