काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र केही सीमित स्वार्थ समूहको चलखेलमा ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विरोध गरेका छन् ।

मंगलबार स्याङ्जा जिल्लामा आयोजित कार्यक्रममा नेता डा.कोइरालाले मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् । उनले सञ्चारमन्त्रीको मातहतमा सञ्चारमाध्यमलाई नियमन गर्न ल्याउन लागिएको मिडिया काउन्सिल विधेकको कुनै औचित्य नरहेको बताए ।

कांग्रेस नेता डा.कोइरालाले भने, ‘अहिले प्रेस सम्बन्धी विधेयकहरू आउँछै । यो सबै सरकारको नेतृत्वमा जकडिएको छ । मिडिया काउन्सिल विधेयक किन चाहियो त ? के को लागि चाहियो ? किन चाहियो ? सरकारको मातहत अगर सञ्चारमन्त्रीको मातहत ल्याउने ल्याउने भए मिडिया काउन्सिल नराखे हुन्छ ।’

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको इन्ट्रेस्ट र केही सीमित स्वार्थ समूहको दवावमा मिडिया काउन्सिल विधेयक ल्याउन खोजिएपछि विरोध हुँदै आएको छ । राष्ट्रिय सभाको समितिमा समेत मिडिया काउन्सिल विधेयकको विरोध हुँदै आएको छ ।

समितिमा धारणा राख्ने अधिकांश विज्ञ र सांसदहरूले मिडिया काउन्सिल विधेयकमा धेरै कुराहरू सुधार आवश्यक रहेको बताउने गरेका छन् । उनीहरू जस्ताको त्यस्तै मिडिया काउन्सिल विधेयक आयो भने सञ्चारमाध्यमलाई ठूलो क्षति हुने र लोकतन्त्रको मेरुदण्ड भाँच्चिने बताउँदै आएका छन् ।

यसैबीच, नेता डा.कोइरालाले प्रजातान्त्रिक समाजवाद भएन भने देश अधो गतितिर जाने बताएका छन् ।

‘डमोक्रेशी हाम्रो लागि अत्यन्तै महत्वपूर्ण छ । समाजवाद मात्रै भनेर पुग्दैन । त्यो कम्युनिस्टहरूले भन्ने कुरा हो,’ उनले भने ।

‘टिकट र रिल्सलाई बिचारको माध्यम नबनाउनुस् । त्यसले तपाईहरूलाई बिर्गाछ । म पनि हेर्छु,’ डा.कोइरालाले भने, ‘बिचार बनाउनलाई होइन, इन्ज्वइ गर्नलाई मात्रै हेर्छु । मेरोबारेमा क–कसले गाली गरेको छभनेर यसो हेर्छु । तपाईहरूले गाली गरिरहेको हेर्छु । चित्त बुझेन भने गर्छन् ।’

प्रतिक्रिया!!

सम्बन्धित खबर