काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन् । मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकुल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोडनुपर्ने ओलीको जिकिर थियो ।
बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिए ।
ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको समेत दाबी गरे । देश अप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्वहरु सल्बलाएको भन्दै उनले देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताए ।
‘अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्विकार्य हुन सक्दैन,’ उनले भने, ‘कि उपयुक्त ढंगले सरकार चलाउनु पर्छ । होइन भने सरकार छोडनु पर्छ । वैधानिकताको एउटा धागो समातेर यी अहिले गठबन्धनमा छन यिनीहरु । यिनीहरुबाट अव हामीले देखिसक्यौं– हामीलाई समेत पुराना भन्छन् नि । उमेरका हिसाबले पुराना हुँदैन । हामीसँग कामको हिसावले, विचारका हिसावले कसैको पनि तुलना हुन सक्दैन । हामी नयाँ पार्टी हौँ । सर्वथा नयाँ । हाम्रो लामो जीवन छ । लामो यात्रा छ । समृद्ध नेपाल, सुखी नेपालीसम्मको यात्रा छ ।’
आफूहरु एउटा चुनावदेखि अर्को चुनावसम्मको यात्रामा मात्र सीमित नरहेको ओलीले दाबी गरे । साथै मन्त्रीदेखि मन्त्रीसम्मको यात्रा र सांसददेखि सांसदसम्मको यात्रा मात्र पनि नरहेको उनले बताए ।
देशलाई अहिलेको हालतमा पुर्याउने गठबन्धन सरकार नै रहेको उनले बताए । ओलीले भने, ‘वास्तवमा यो गठबन्धन रहेसम्म सरकारका भएको हुनाले उहाँहरुले त भन्न पर्ला । यथार्थ चाँही राम्रो छ भन्नुपर्ला उहाँहरुले । यथार्थ चाँही त्यस्तो होइन । यथार्थ यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन ।
यस्तोमा के गर्ने अव ? अहिले विभिन्न प्रकारका शक्तिहरु, विभिन्न प्रकारका राजनीतिक प्रवृत्ति र सोचहरु असफल भईसकेका, इतिहासमा असफल भएका अढाई सय वर्षका राजतन्त्रको इतिहासमा २४० वर्षको इतिहासमा विकास निर्माणको कुरा कहिले थालिएका छ भन्दा २०२० सालबाट कोदारी राजमार्ग बनाएको कुरा छ । २४० वर्ष के हेरेर बस्यो ? दुनियामा बाटो बनेको देखेका थिएन ? नेपालमा बनाउन पर्दैन थियो ?’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधिनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए । उनले पछिल्लो यो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहोर्याए । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो ।