
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-५ स्थित सीमावर्ती क्षेत्रमा प्रहरी र लागुऔषध कारोबारी समूहबीच भएको गोली हानाहानपछि प्रहरीले एक जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिन सफल भएको छ ।
इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको कमान्डमा खटिएको टोलीले देखाएको यो उच्च सतर्कता र साहसको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।
विशेष सूचनाका आधारमा शुक्रबार दिउँसो पुगेको प्रहरी टोलीले कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच भिडन्त भएको थियो । कारोबारी समूहले प्रहरीतर्फ एक राउन्ड गोली प्रहार गरे पनि प्रहरी सुरक्षित रहन सफल भएको थियो ।
लगत्तै आत्मरक्षा र अपराधी नियन्त्रणका लागि प्रहरीले चलाएको दुई राउन्ड जवाफी गोलीमध्ये एक गोली लागुऔषध कारोबारी, भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको छ । घाइते कलामलाई नियन्त्रणमा लिई उपचार र थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
नागरिक स्तरबाट उच्च प्रशंसा र समर्थन
प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा ज्यानको बाजी राखेर लागुऔषध कारोबारीलाई नियन्त्रण गर्न सफल भएको यो कार्य अत्यन्त प्रशंसनीय र सराहनीय रहेको स्थानीय नागरिक र सरोकारवालाहरूले बताएका छन् । समाजलाई लागुऔषधको गम्भीर दलदल र कुलतबाट मुक्त बनाउन सुरक्षा निकायले गरिरहेको यस्तो सक्रिय र निडर पहलले आम नागरिकमा ठूलो सकारात्मक सन्देश प्रवाह गरेको छ।
अपराध नियन्त्रण गर्ने तथा युवापुस्ताको भविष्य बर्बाद हुनबाट जोगाउने यस पवित्र अभियानमा प्रहरी निरीक्षक मल्ल र उहाँको सम्पूर्ण टोलीप्रति हार्दिक सम्मान व्यक्त गर्दै, समाजलाई भयमुक्त र स्वस्थ बनाउने प्रहरीको यस्ता हरेक कदममा नागरिक समाज सधैं साथ, सहयोग र समर्थनमा रहने प्रतिबद्धता समेत आम समुदायबाट व्यक्त गरिएको छ।





