
सिरहा । सुखीपुर नगरपालिका र औरही गाउँपालिकाको दोहोरो आर्थिक कमान्ड सम्हाल्दै आएका विवादित लेखा अधिकृत देवेन्द्र यादव अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा तानिएका छन्। दुईवटा पालिकामा बसेर करोडौँ रुपैयाँ अनियमितता गरेको र अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि उनीमाथि छानबिन सुरु भएको हो।
तर, पहुँचवाला कर्मचारीहरूमाथि अख्तियारले गर्ने फितलो छानबिन र कारबाहीको नजिरलाई हेरेर स्थानीय बासिन्दाले भने “अख्तियारले साँच्चिकै कारबाही गर्ला त?” भन्दै संशय व्यक्त गर्न थालेका छन्।
स्रोतका अनुसार लेखा अधिकृत यादवले सुखीपुर र औरही दुवै पालिकामा सेटिङका आधारमा योजनाहरूको भुक्तानी दिने, उपभोक्ता समितिहरूसँग मोटो कमिसन लिने र कागजी प्रक्रिया मात्रै मिलाएर बजेट फछ्र्यौट गर्ने गरेका थिए। छोटो अवधिमै उनले आफ्नो आम्दानीको स्रोतभन्दा कयौँ गुणा बढी मूल्यको घर-जग्गा र विलासी सम्पत्ति जोड्न सफल भएको भन्दै अख्तियारमा प्रमाणसहित उजुरी परेको बुझिएको छ।
अख्तियारले उनीमाथि छानबिन त सुरु गरेको छ, तर लेखा अधिकृत यादवको राजनीतिक र प्रशासनिक पहुँच बलियो भएका कारण यो छानबिनलाई सामसुम पार्न सक्ने आशंका स्थानीय सरोकारवालाहरूको छ। विगतमा पनि यस्ता गम्भीर मुद्दाहरूमा राजनीतिक दबाब वा आर्थिक लेनदेनका कारण ठुला माछा उम्किने र साना कर्मचारी मात्रै फस्ने गरेका कारण सर्वसाधारणमा यो संशय पैदा भएको हो।
सुखीपुर र औरहीका स्थानीय युवाहरूले यस पटक अख्तियारको कदमलाई नजिकबाट नियालिरहेको र यदि छानबिनमा ढिलासुस्ती वा उन्मुक्ति दिने खेल भए सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। निजामती सेवाको आवरणमा दुवै हातले सम्पत्ति सोहोर्ने यस्ता भ्रष्ट अधिकारीलाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुवैले कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग चौतर्फी रूपमा उठ्न थालेको छ।





