काठमाडौँ। एमाले नेता तथा राष्ट्रिय युवा सङ्घका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् । काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरू रहेको बताउँदै सो चेतावनी दिएका हुन् ।
उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए । साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागेको पनि बताए । उनले भने, ‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन् । आज दुर्गा प्रसाईँले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो ।’
नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गरे । उनले भने, ‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ । ’ उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।