काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला सुनाएको हो । २०७७ कात्तिक २० गते काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा दर्ता भएको उक्त मुद्दामा अदालतले ज्यान मार्ने उद्योग नभई कुटपिट र अंगभंगमा दोषी ठहर गरेको हो ।
घटनामा संलग्नमध्ये मुख्य योजनाकार मानिएका हरि आचार्य, सह योजनाकार योगेन्द्र रावल तथा कुटपिटमा संलग्नहरु रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद र पीडित उपप्राध्यापक प्रेम बहादुर चलाउनेलाई उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
साथै प्रतिवादीहरुलाई जनही २० हजार रुपैयाँ जरिवानाको फैसलासमेत भएको छ । घटनामा सहयोगी रहेका भनिएका दिपकराज ओझालाई भने अदालतले सफाइ दिएको छ । प्रेमबहादुर चलाउनेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो ।
तर काठमाडौँ जिल्ला अदालतले भने आक्रमणकारीले टाउकोमा प्रहार नगरेको र ज्यान मार्ने उद्योगभन्दा पनि शरीर अंगभंग गराउने उद्देश्यले आक्रमण गरिएको र गराइएको भन्दै उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ को उपदफा ५ बमोजिमको सजाय सुनाइएको हो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १९२ मा अंगभंग गर्न नहुने सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा १ अनुसार अंगभंग गराएमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
सोही दफाको उपदफा ५ मा अंगभंग भएको खत वा घाउ निको भई काम लाग्ने भएमा तीन वर्षसम्मको कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
उपप्राध्यापक चलाउनेको गोडा भाँचिई हाल जोडिएकाले कुटपिट अंगभंगमा संलग्नहरुलाई तीन वर्षसम्म कैद सजाय हुन सक्नेमा न्यायाधीश विनोद खतिवडाले प्रतिवादीहरुलाई २ वर्षको कैद र जनही २० हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । साथै उपचारमा लागेको खर्च समेत प्रतिवादीहरुबाट भराउने फैसला गरेका हुन् ।
घटनामा संलग्नमध्ये प्रमुख योजनाकार भनिएका हरि आचार्य भने यतिबेला अमेरिकामा छन् । अन्य आरोपितमध्ये सयुज श्रेष्ठ एक महिनादेखि पुर्पक्षमा रहेको भएपनि अन्य अभियुक्तहरु भने धरौटी राखेर थुनामुक्त भएका थिए ।