काठमाडौँ । समानुपातिकतर्फ लोकप्रिय मत पाएको एमाले चुनाव सम्पन्न भएको एकवर्षमै पदयात्राको नाममा अर्को चुनावी तयारीको झल्को दिने प्रयासमा जुटेको छ । प्रमुख प्रतिपक्षी एमालेले महाकालीको झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्रालाई सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय नाम दिएको छ ।

के यो यात्रा मुलुकमा देखिएका समस्या समाधानमा केन्द्रित होला ? जनतामा देखिएको निराशालाई केन्द्रमा राखेर एमाले नेतृत्वले कदम चाल्न सफल होला ?


चौतर्फी घेराबन्दी र संसद विघटनमा अदालतको आदेशपछि नकारात्मक प्रभावका बीच पनि एमालेले चुनावमा सन्तोषजनक नतिजा ल्याउँदै पहिलो ठूलो दलबाट दोश्रो दल बन्न पुग्यो । त्यसपछि गुमेको सत्ताको बागडोर माओवादी केन्द्रलाई नेतृत्व सुम्पिएर हातमा ल्याएपनि त्यो लामो समयसम्म जानै सकेन् । कांग्रेसले चलाखीपूर्वक सत्तामा पुनरागमन गरिदियो । त्यसपछि सरकारको खनिखेदो गरिरहेको एमालेले सरकारलाई असफल देख्न थालेको देखिन्छ । सरकारले काम गर्न नसकेको भन्दै तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सत्ता नछाडे आन्दोलन समेत गर्नुपर्ने हुनसक्ने चेतावनी एमालेको छ ।


एमाले आफैले काँध थापेर निर्माण गरेको सरकार कांग्रेससहितको गठबन्धनमा पनि संकटमा भने देखिन्छ । प्रधानमन्त्री प्रचण्ड आफैले पनि यसको संकेत गरिरहन्छन् । तर, सरकारमाथि मात्रै भन्दा पनि समस्या सिंगो व्यवस्थामाथि नै हुने त होइन भन्ने प्रश्नहरु समेत उठ्न थालेका छन् । गणतन्त्रविरोधी प्रदर्शन स्वभाविक र अधिकारको विषय भएको भन्दै नेताहरुले समेत सार्वजनिक अभिव्यक्ति दिइरहेको बेला एमालेले जनतामा छाएको निराशाको समाधान कसरी निकाल्छ ? त्यो बडो रोचक विषय बनिरहेको छ । तर, पदयात्रामा जानुपूर्व ओलीले एक भिडियो सन्देशमा जनतासँग यस्ता विषयमा भलाकुसारी हुने दाबी गरिरहेका देखिन्छन् ।


एमालेले चुनाव सकिएको वर्षदिनमै यस्तो यात्रा तय गरेपछि कतिपयले एमालेले चुनावी झल्को दिन खोजेको टिप्पणी समेत गरिरहेका छन् । पहिचानवादीको आक्रमण निसानामा परिरहेको एमालेले यस्तो यात्राको तयारी किन गरिरहेको छ ? प्रश्न भने अनुत्तरित नै देखिन्छ । महाकाली छेउवाट पूर्वसम्मको यात्राको क्रममा एमालेले सरकारको विरोध, गलत कामको भण्डाफोर, जनताका निराशा लगायत विषयलाई चिर्ने दाबी गरिरहेको छ । तर, भेला कार्यक्रमले यस्ता विषय साँच्चिकै हल हुन्छन ? पक्कै पनि त्यो सम्भावना छैन ।


तर, एमालेले शक्ति आर्जन गर्नेदेखि आफ्नो ल्याकत के कस्तो छ भनेर थाहा पाउने वातावरण भने बन्नेछ । तर, पदयात्राको आवरणमा चुनावकै झल्को दिने गरि भएको यो विषयमा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता र संविधानमाथि एमालेको धारणा भने सार्वजनिक हुनेछ ।

पदयात्राको क्रममा एमालेले जनतालाई गणतन्त्रविरोधी प्रदर्शन र व्यवस्थाविरोधी कदमलाई प्रकाश भने पार्ने अपेक्षा गरिएको छ । तर, जनतामा छाएको निराशाको सम्वोधन कसरी होला ? संसदमा एमालेको भूमिका कस्तो रहला ? यस्ता विभिन्न विषयले थप प्रष्ट पार्नेछ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर