वीरगञ्ज । सशस्त्र प्रहरीले स्रोत नखुलेको दस लाख रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। स्राेत नखुलेको रकमसहित प्रहरीले भारतको पूर्वी चम्परण रक्सौल ७ अरुवाटोल बस्ने २३ वर्षीय उमेश यादवलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ बी आर ०५ ए आर ८१०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनलाई स्राेत नखुलेको रकमसहित पक्राउ गरिएको हो।
चेकजाँच गर्ने क्रममा यादवले प्रयोग गरेको हेलमेटभित्र लुकाइछिपाइ ल्याउँदै गरेको स्राेत नखुलेको नेपाली रुपैयाँ दस लाख बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उनलाई रकमसहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका डिएसपी संगम श्रेष्ठले जानकारी दिए।