काठमाडौं । इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली नेपाल प्रहरी पूर्व सङ्गठन प्रमुख मञ्चद्वारा सम्मानित भएका छन् । उक्त मञ्चद्वारा सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गरे ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धिले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताए । यस्ता अभिनव सोच र साहसिक कार्यहरूले अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्त्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद ज्ञापन गर्दै इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताए । यस सिर्जनशील कार्यमा पूर्व प्रहरी कर्मचारीहरूको समेत योगदान रहेको चर्चा गर्दै यस उपलब्धिले अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्याएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समन्वय थप प्रभावकारी रूपमा गर्न सहज हुने उनले उल्लेख गरे ।
सम्मानित हुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठद्वारा नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट’ इन्टरपोल हन्ड्रेड विषयक सूचनामूलक छोटो भिडियो इन्टरपोलद्वारा आयोजित इन्टरपोल हन्ड्रेड ग्लोबल भिडियो कन्टेन्ट फर योङ पुलिस लिडर प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो ।
यसैगरी सम्मानित हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएको थिए । सम्मान कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।