काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् । सो क्रममा राष्ट्रपति पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्धनका लागि व्यवसायमैत्री कानुन बनाउन आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सृजना गर्न आवश्यक रहेको औँल्याए ।
उनले भने–‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवर्द्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ ।’