काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् ।
सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्री दाहालले निर्माणाधीन दुई सडक खण्डका बारेमा जानकारी लिएका हुन् । निरीक्षणपछि प्रधानमन्त्री दाहालले भने, ‘हाम्रा परियोजना भनेजस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन, यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’
गिटी, बालुवा, ढुंगा, विद्युतका सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले थपे, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो, समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ, दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’
परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले भने, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन्, समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु ।’ अब धेरै समय विकासका कामलाई दिने प्रचण्डले बताए ।
अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका योजनाका काम दुई सिफ्टमा गराउनुपर्ने बताए । यसका लागि गम्भीर गृहकार्य गर्न उनको सुझाव छ ।