काठमाडौं । नेकपा एमालेले नेता डा. रामप्रसाद बस्याललाई पार्टीबाट निष्कासित गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने कार्यक्रमको संयोजक बनेको आरोपमा बस्याललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले शनिवार एक विज्ञप्ति जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्णरुपमा प्रतिवद्ध रहेको भन्दै त्यसविपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्काशन गरिएको जनाएका छन् ।
‘एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार गर्न सकिँदैन । यसप्रकारको अनुशासनहीनता क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्काशन गरिएको छ ।’
पूर्वराजा ज्ञानेन्द्र यही १५ पुसभित्र भैरहवामा आउने तयारी छ । भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । उनी गत स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका थिए ।