मधेस । अपहरणमा परेका दुई नेपालीको भारतबाट उद्दार गरिएको छ । नेपाल प्रहरीले सीमा क्षेत्रमा खटिएका भारतीय प्रहरीसँग समन्वय गरि उनीहरूलाई अपहरणमुक्त गरेकाे हाे । अपहरणमुक्त हुनेहरूमा चितवनकाे भरतपुर महानगरपालिका १९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र रत्ननगर नगरपालिका जिरौना वस्ने वर्ष ३५ को दिपेन्द्र महत रहेका छन् ।
गत पुस ५ गते राैतहटकाे चन्द्रपुर जान्छु भनी हिँडेका उनी गत पुस ०७ गते अपहरणमा परेका थिए । कृष्ण थापाले अपहरणमा भन्दै श्रीमतीलाई फेसबुक मेसेन्जरमा कल गरेको प्रहरीले जनाएको हाे । अपहरण गर्ने व्यक्तिहरूले ६ लाख रकम फिराैती माग गरेको भनी थापाले आफ्नो श्रीमतीलाई जानकारी गराएका थिए । अपहरण मुक्त भएका दुवै जनाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको हाे ।
अपहरण कार्यमा संलग्न ६ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सितामाढी थाना डुम्रा मेहसोल वडा नम्बर २७ वस्ने मोहम्मद लियाकल राईनको छोरा मोहम्मद अकबर, साेही ठाउँ बस्ने मोहम्मद जमिल अकतरको छोरा मोहम्मद नईम, मोहम्मद अलाउदिनको छोरा बर्ष ३० को कौसर अली,मोहम्मद सईमको छोरा बर्ष २० को मोहम्मद सदाब रहेका छन् । त्यस्तै, साेही ठाउँकाे मोहम्मद ऐहसान शेखको छोरा मोहम्मद ईरसाद, जिल्ला सितामढी बथनाहा थाना टन्डसपुर वडा न. ३ वस्ने कैलाश सिंहको छोरा बर्ष ३३ को राम नरेश कुमार रहेका छन् । नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान अगाडी बढाएको छ ।