जनकपुरधाम । धनुषाको सबैला नगरपालिका मेयर कारीराम यादवको खातामा ५० हजार रुपैयाँ आएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । आफूलाई बदनाम गर्ने नियतले खातामा पैसा हालेको भन्दै उनले वडा–१२ स्थित फकिरचन्द गामी माध्यमिक विद्यालय, बरकुर्वाका लेखापाल देवकुमार यादव र खाता उपलब्ध गराउने बैंकक कर्मचारीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

मेयर यादवका अनुसार सबैलाको सिटिजन बैंकको शाखामा रहेको उनको खातामा साँझ ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज मोबाइलमा आएको थियो ।‘खातामा अचानक शुक्रबार साँझ ५० हजार रुपैयाँ जम्मा भएको म्यासेज मोबाइलमा आएपछि म आश्चर्यमा परे । गल्तीले कसैको आएन भनेर आइतबार बैंकमा गएर बुझ्दा बरकुर्वा माविका लेखापाल देवकुमार यादव र प्रधानाध्यापक बैजुकुमार साहले सो रकम हालेको थाहा पाएँ’ मेयर यादवले भने, ‘मेरो खातामा कहाँबाट आयो भनेर बुझ्दा बैंककै कर्मचारी विनोद भन्नेले दिएका रहेछन् । मलाई बदनाम गर्ने नियतले पो भन्ने लागेर दुबैजना विरुद्ध उजुरी दिएको छु । छानविन गरेर दोषीलाई कारबाही हुनुपर्छ ।’
सबैलास्थित सिटिजन बैंकका शाखा प्रबन्धक जनक कार्कीले कर्मचारीबाटै व्यावहारिक रूपमा उक्त खातामा नम्बर प्रअ र लेखापाललाई उपलब्ध भएको स्वीकार गरे ।उजरी परेपछि इलाका प्रहरी कार्यालय सबैलेले बुधबार लेखापाल देवकुमार यादवलाई बोलाएको थियो । बदनाम गराउने उद्देश्यले आफ्नो खातामा पैसा हालेको भनेर मेयरले निवेदन दिएको र त्यसकै कारण लेखापाल यादवलाई बोलाएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले बताए ।
पैसाजम्मा गरेको भौचरमा नम्बर प्रअ साहको छ । जम्मा गर्नेमा पहिले प्रअ साहकै नाम उल्ल्ेख गरिएको छ । अन्तमा काटेर माथि लेखापाल देवकुमार यादवको नाम उल्लेख छ । मेयर यादवका अनुसार शिक्षकलाई तलब खुवाउने भनेर प्रअसँगै बैंकमा पुगेर खातामा पैसा हालेको स्वीकारको बताए । तर, लेखापाल यादवले भने फोन उठाएनन् ।