काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नाबालिग बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन् ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

त्यसका लागि फेरि छुट्टै सुनुवाइ हुने भएकाे छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

गौशाला २६ नामकी किशोरीलाई काठमाडौ‌को होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो ।

गत आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै काठमाडौं जिल्ला अदातलका न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन् ।

६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप जेल बस्नुपर्ने सम्भावना रहेकाे छ ।

अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले जेल सजाय भोग्नुपर्ने अवधि तय हुनेछ । यो प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो । पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो ।

उता सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो । सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर