काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलहरु गठबन्धन गरेर जाने भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जानेबारे आज पनि बालुवाटारमा छलफल भएको छ । आजको छलफलमा नेकपा (माओवादी) र नेपाली कांग्रेसका नेताहरु सहभागी थिए ।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० जनाको कार्यकाल सकिँदै छ । जसअनुसार १९ जना प्रत्यक्ष निर्वाचित हुन् भने एक जना मनोतित सांसद हुन् । प्रत्यक्षतर्फका १९ जना सांसद चयनका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा आफ्नो सबैभन्दा धेरै मतभार रहेको भन्दै कांग्रेसले १० सिटमा दाबी गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रको छ सिटमा दाबी छ । सरकारमा सहभागी अन्य साना दललाई पनि मिलाएर लैजाने तयारीमा सत्ता गठबन्धन रहेको छ । सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति, जनता समाजवादी लगायतले पनि राष्ट्रिय सभामा भागबण्डा खोजिरहेका छन् । उनीहरुलाई पनि मिलाएर लैजाँदा कांग्रेस र माओवादीले दाबी गरेअनुसार सिट नपाउने निश्चित छ ।

आजको बैठकमा गठबन्धन दलको बैठक भोलि (बुधबार) बसेर भागबण्डा टुङ्ग्याउने सहमति बनेको बताइएको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर