काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भाषाका विषयमा रहेका अन्यौलता हटाउन विज्ञ संलग्न समितिको खाँचो औँल्याएका छन् । त्यसका लागि सरकार नै प्रमुख जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ छ ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा सोमबार सञ्चारग्राममा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले भाषासँग सरोकार राख्ने पक्ष समेटेर समिति नै बनाएर सरकारले पहल गरे भाषासम्बन्धी अन्यौलता हट्ने विश्वास व्यक्त गरे । भाषा आयोग आफैँ अलमलमा रहँदा पनि अन्यौलको स्थिति आएकाले वरिष्ठ र अनुभवी विज्ञ संलग्न समितिको आवश्यक्ता भएको औँल्याए ।

साहित्यिक पत्रकारिताबाट समग्र पत्रकारिताले कुन भाषाको र कसरी प्रयोग गर्ने भनी सिक्नुपर्नेमा उनको जोड छ । ‘हामी हजुरबुबालाई तिमी भन्दैनौँ तर पत्रकारितामा त्यही प्रयोग भएको छ’, उनले भने, ‘साहित्यिक पत्रकारिताले समग्र पत्रकारिता बचाउने र साहित्यिक पत्रकारितालाई राज्यले बचाउनुपर्छ ।’

कुन निकायको भाषालाई आधिकारिक मान्ने भन्ने अन्यौल रहेकाले त्यो हटाएर एकरुपता कायम हुनुपर्नेमा उनको जोड छ । कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले पनि भाषालाई सर्वमान्य बनाउनका लागि सरकारले भाषाका विषयमा विज्ञता भएका व्यक्तिहरु राखेर समिति बनाउनुपर्ने उल्लेख गरे ।

वरिष्ठ भाषाविद् शरच्चन्द्र वस्तीले भाषा नै ज्ञान, विज्ञान र सभ्यताको विकासको मूल भएको बताए । भाषाको कसरी प्रयोग गर्ने भन्ने विषय शासकीय सत्ता प्रयोग गरेर मात्रै निर्धारण हुन नसक्ने उनको भनाइ थियो । प्रेस काउन्सिलका सदस्य दिपक पाण्डेले नेपाली भाषा मास्ने काम धेरैतिरबाट भइरहेको बताए ।

विगतमा सरकार प्रमुखले समेत मिडियामा प्रयोग भएको भाषाका विषयमा आपत्ति जनाउने अवस्था आएको उनले राष्ट्रप्रमुख वा अरु कसैलाई तिमी कि तपाई के भन्ने भनी निर्धारण गर्नुपर्ने उल्लेख गर् । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकारिताको अनुगमन गर्न काउन्सिलमा छुट्टै शाखा र महाशाखा चाहिने बताए ।

राष्ट्रिय मिडियामा प्रयोग हुने भाषामा एकरुपता चाहिने उनको धारणा छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले धेरैले भाषा सिक्न साहित्यिक पत्रिकालाई आधार मान्दै आएको उल्लेख गरे । कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आगामी दिनमा पनि साहित्यक पत्रकारिता र भाषाका विषयमा छलफल गोष्ठीलाई निरन्तरता दिइने बताए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर