जनकपुरधाम । अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट पठाउन लागेको भारको सम्पूर्ण तयारी पूरा भएको छ ।

बुधबार, जानकी मन्दिर प्रांगणमा भारको तयारी पूरा भएको बारे पत्रकारहरूलाई जानकारी गराउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर बिहीबार बिहान ८ बजे जनकपुरधामबाट निस्किने जानकारी दिए । उनले बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्दै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगञ्जमा रात्री बास बस्ने जानकारी दिए ।
त्यस्तै बिहीबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने बताए । त्यसपछि अर्को दिन ६ तारिक बिहान ९ बजे भारलाई राम जन्मभूमि ट्रस्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने उनले जनाए ।
दर्शन गरेकै दिन जनकपुरधामका लागि अयोध्याबाट फर्किने उनले बताए । अयोध्याका लागि सयौंको संख्यामा जनकपुरधामबाट भार जाँदै छ भने, वीरगञ्जसम्म थप भार ठाउँठाउँबाट आउने अनुमान गरिएको छोटे महन्थ दासले बताए ।