काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिलाले लगाउने ब्रा र पेन्टीमा लुकाएर ल्याइएको सुन बरामद गरेको छ ।

पुस २२ गते सुराकीले दिएको विशेष सूचनाको आधारमा फ्लाइ दुबई एयरलाइन्सको उडानबाट काठमाडौं आएकी महिलाको साथबाट करीव १ किलो सुन बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुबईबाट काठमाडौं आएकी यात्रु श्रीलंकन नागरिक ४५ वर्षीया महिला कान्थ्यमथ्य काभास्करलाई विमानस्थलको आगमन टनेल गेटमा खानतलासी भएको थियो ।
नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा महिलाले लगाई आएको भित्री बस्त्र (ब्रा) को दुईतर्फ फल्स बटम बनाई सुन धातुको अर्ध ठोस बस्तु पोका थान–२ बरामद भएको छ ।
ती महिलाले लगाएको भित्र लगाउने कट्टु समेत शंकास्पद देखिएपछि खानतलासी भएको छ । ती महिलालाई प्रहरीले पुस २३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा परीक्षण गर्दा अर्ध ठोस बस्तु र कट्टुको कुल तौल १ किलो २६९ ग्राम र गलाएपछि सुन ८३२ ग्राम रहेको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।