बारा । जिल्लाको निजगढ नगरपालिकाले बिरामीको घरघरमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । ‘ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त, अपांगसँग निजगढ नगरपालिका’ कार्यक्रममार्फत नगरपालिकाले बिरामीको घरमै पुगेर सेवा दिन सुरु गरेको हो ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्ष माथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।भौगोलिक विकटता, स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आएर सेवा दिँदा स्थानीय सरकारले सरकार रहेको अनुभूत गराएको छ । निजगढ नगरपालिका–११ रतनपुरकी १ सय २ वर्षीय अम्बिका कार्की र उनकी ६५ वर्षीय बुहारी रनमाया खत्रीको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । नगरपालिकाका स्वास्थ्यकर्मीहरू घरमै आएर स्वस्थ्य परीक्षण र औषधि वितरण गरेपछि रनमायाले खुसी व्यक्त गरिन् ।
स्वास्थ्य संस्थासम्म जान नसक्नेका लागि घरमै गएर सेवा प्रदान गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले बताए । सबै वडामा घरदैलो गरेर बिरामीहरूको पहिचान गरिएको र रक्तचाप, मधुमेहजस्ता दीर्घरोगीको जाँचसमेत गरिएको उनले बताए ।
घरमै पुगेर प्राथमिक उपचार गरी औषधिसमेत वितरण गरिएको छ । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुःखाइ लगायतका उपचार गरिने बताए ।
पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिने निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए । नगरप्रमुख पुरीले नेपालको संविधानले नै नागरिकलाई स्वास्थ्य उपचारको हकप्रदान गरेकोले यसको प्रत्याभूति गर्न सबै क्षेत्र र तहले इमानदारीका साथ काम गर्नुपर्ने बताए ।