महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्खननमा संलग्न ट्रिपर र जेसिबीलाई नियन्त्रणमा लिइएको छ ।
राजस्व छली गर्दै अवैध दोहन भएको चर्को विरोध भइरहेकै बेला दुई दिनभित्र ११ वटा ट्रिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बर्दिवास–४ स्थित चेरुको निजी जग्गाबाट मापदण्ड विपरीत उत्खनन भएको आरोपमा माटो ओसारपसार गरिरहेका ११ वटा ट्रिपर पक्राउ परेको २४ घण्टा नबित्दै बर्दिवास–७ बाट आइतबार एउटा जेसिबी र ट्रिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा अस्थायी प्रहरी पोस्ट माईस्थानबाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन र स्टोक प्रमाणित नरहेको उक्त जेसिबी र ट्रिपर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोककृष्ण अधिकारीले जानकारी दिए ।