काठमाडौं । कप्तान हरिशंकर साह र युवा ब्याटर मयन यादवको अर्धशतकको मद्दतमा प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई २३२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सुरुआतमा ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकरले ६१ बलको सामना गर्दै ६ चौकासहित ५० रन बनाए भने अर्का ब्याटर मयन यादवले ८८ बलमा ५ चौकासहित ५० रननै थपे ।

हरिशंकर र मयनका अतिरिक्त अनिल साहले ४४ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन जोड्दा अभिषेक तिवारीले ३४ रन थपे । ३७ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हिर्काए । पवन सर्राफ, राजेश यादव र प्रदिप पासवानले समान ११ रन जोड्दा रुपेश सिंह तीन र निरज यादव शून्य रनमा आउट भए ।

बलिङतर्फ कर्णालीका दिपेन्द्र रावतले किफायति बलिङ गरे । उनले १० ओभरमा १ मेडन राख्दै मात्र ३९ रन खर्चिएर ४ विकेट लिए । अनुज चनाराले २ विकेट लिँदा युनिस सिंह, दिनेश अधिकारी र दिवान पुनको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर