काठमाडाैं । सरकारले भ्रमण तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातबारे नयाँ कार्यविधि जारी गरेको छ । भ्रमण तथा पर्यटक भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २०७८ फागुन २६ मा जारी गरेको निर्णय खारेज गर्दै भ्रमण भिसामा जाँदा चाहिने कागजात र पूरा गर्नुपर्ने सर्तबारे स्पष्ट व्यवस्था गरिएको हो ।
अध्यागमन विभागले यसअघिको निर्णयले विभिन्न विषय स्पष्ट नभएको भन्दै अब आधारभूत सर्त पूरा गरेर मात्रै भ्रमण भिसामा विदेश जान पाइने गरी कार्यविधि जारी गरेको जनाएको छ ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले आजदेखि लागु हुने गरी भ्रमण भिसामा जाँदा कम्तीमा छ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने बताए ।
सम्बन्धित देशको भिसा चाहिने र अन एराइभल भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने विभागका महानिर्देशक तामाङको भनाइ छ ।