काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी अरुण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरेको स्पष्टीकरण दिएको छ । शुक्रबार बार पत्रकार सम्मेलन गरेर सिआईबी च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको देखिएकाले पक्राउ गरिएको स्पष्टीकरण दिएको हो ।
पत्रकार सम्मेलनमार्फत सिआईबीले लामो समयको अनुसन्धानको आधारमा चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको जनाएको छ ।
सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साल साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको बताए । उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको जानकारी दिए ।
एसएसपी आचार्यले बाँसबारी छालाजुत्ता कारखाना निजीकरणको क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी शेयर किन्ने प्रस्तावका आधारमा महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत शेयरको लिलामी निकाल्ने भए पनि लिलामी शेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले शेयर खरिद गरेको देखिएको बताए ।
याे पनि : बाँसबारीको जग्गा प्रकरणमा व्यवसायी चौधरी र थापासँगै अरु पनि तानिने सम्भावना
एसएसपी आचार्यले चौधरीले २०५४ पुस ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालिन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताए । उनका अनुसार त्यसपछि च्याम्पियन फुटवेयर प्रालिको नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको थियो ।
बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको भए पनि त्यस्तो नभएको देखिएको एसएसपी आचार्यले बताए ।
उनले २४ प्रतिशत सर्वसाधरणका लागि जारी गर्ने भनिएको शेयर पनि कतै जारी नभएको बताए । एसएसपी आचार्यले बाँसबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारको दरले मूल्यांकनको आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको जानकारी दिँदै च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको बताए ।