काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश अधिकारीले सरकारले मधेशलाई बजेटमा विभेद गर्दै आएको बताएका छन् ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सबैभन्दा बढी जनसंख्या भएको मधेशमा केवल १३ प्रतिशत बजेटमात्रै दिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । उनले आगामी दिनमा त्यसो नहोस् भनेर सरकारको ध्यानाकार्षण गराए ।
‘बजेट सन्तुलनमुखी छैन । जहाँ बढि जनसंख्या छ, जहाँ बढी आवश्यकता छ त्यहाँ १३ प्रतिशत मधेशमा । अनि बाँकी सबै अरुतिर । जुन विभेद देखा परेको छ, त्यसको असन्तुष्टि छ ।’ उनले भने, ‘यसले सन्तुलित विकासमा असर गर्छ । यसरी सन्तुलित विकास हुनसक्छ ? विभेद अन्त्य हुनसक्छ ? आगामी दिनमा यस्तो विभेदपूर्ण काम नहोस् ।’
साथै, मधेशमा केही समयमा खानेपानीको समस्या विकराल हुनसक्ने भन्दै उनले यसतर्फ सरकारको गम्भीर हुन आवश्यक रहेको बताए । साथै, चुरे क्षेत्रको दोहन भइरहेको भन्दै उनले सरकारको ध्यानाकार्षण गराए ।