काठमाडौं । सडक दुर्घटनाको आपत्कालीन अवस्थामा उद्धार र उपचारको व्यवस्था गर्नेगरी राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार काठमाडौंस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा एक कार्यक्रमकाबिच उक्त सम्झौता भएको हो ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जन र राष्ट्रिय सडक सुरक्षा परिषद्को तर्फबाट सदस्यसचिव कृष्णराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सुरक्षित सडक र दुर्घटना न्यूनीकरणका लागि दुर्घटना भई आईपर्ने आपत्कालीन अवस्थामा खोज तथा उद्धार र उपचारको व्यवस्था दुर्घटनास्थलमै गर्न स्थानीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । पृथ्वी राजमार्ग ट्रमा सेन्टरबिच चिकित्सकीय सम्प्रेषण गर्न एक किसिमको आवद्धताका लागि कन्सलटेन्टहरुले तयार गरेको नमूनागत प्रणाली कार्यान्वयमा ल्याई परीक्षण गर्न सशस्त्र प्रहरी बल नेपालको सहयोग तथा कार्यान्वयको लागि समझादारी पत्रमा हस्ताक्षर भएको सशस्त्र प्रहरी बलले बताएको छ ।
कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शैलेन्द्रकुमार श्रेष्ठले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाइतेहरुको उपचार स्थलगतमै उपलब्ध गराउने गरी सम्झौता भएको बताउनु भयो । उहाँले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा धेरै दुर्घटना हुने भए पनि सो सडकखण्डमा बल्बु अस्पताल भन्दा बाहेकका ठुला अस्पातल नभएकाले उपचार पहिलो प्राथमिकताको लागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा काम गर्ने योजना रहेको बताउनु भयो ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाइतेहरुको उपचार स्थलगतमै तुरुन्तै गर्ने उद्देश्यले सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँले दुर्घटनामा परेका घाइते तथा बिरामीहरुलाई तत्काल उपचार सेवा प्रदान गर्नका लागि पृथ्वी राजमार्ग ट्रमा सेन्टर स्थापना भई कार्यसञ्चालन हुँदै आइरहेको उल्लेख गर्नुभयो ।
उहाँले दुई वर्षको लागि सम्झौता भएको बताउनु भयो । सडक दुर्घटना प्रतिकार्यलाई प्रभावकारी बनाई बिरामी तथा घाइतेहरुको जीवन रक्षा, ट्रमा सेन्टरको भौतिक संरचना र मानव संशोधनहरुको विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त सम्झौता पश्चात नागढुङ्गा–नौबिसे–मुग्लिङ्ग सडकखण्डमा दुर्घटनामा परेकाहरुको उद्धार, घाइतेहरुको उपचार स्थलगतमै तुरुन्तै हुने अपेक्षा रहेको छ । त्यस्तै सडक दुर्घटनामा अनाश्यक मृत्यु र अङ्गभङ्गमा समेत उल्लेख्य कमी आउने र स्थानीय सबै स्वास्थ्य संस्थाहरुमा ट्रमासम्बन्धी तालिम एवम् मेडिकल सामग्री तथा उपकरणहरु समेत थप हुने सशस्त्र प्रहरी बलको अपेक्षा छ ।