काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा बिहीबार छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रचण्डले छलफल गरेका हुन् ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायत दलका नेताहरूको सहभागिता रहेको थियो ।

साथै बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुको पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार आयोजित राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौं आएका थिए ।

राष्ट्रिय समन्वय परिषद्को बैठकमा पनि प्रचण्डले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया!!

सम्बन्धित खबर