काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसएसपी र एसपीको सरुवाको अन्तिम तयारी गरेको छ । केही कार्यालयको सरुवामा कुरा नमिल्दा अन्तिम निर्णय हुन सकेको छैन । शुक्रबारसम्म सरुवा हुने सम्भावना रहेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।एसएसपी सरुवामा पाँच तालिम केन्द्र र मानव बेचबिखन अनुसन्धान ब्यूरोको नेतृत्व फेरिँदै छ । जसमा एक दर्जन एसएसपीबीच प्रतिस्पर्धा छ ।


तराईका जिल्लामा जानका लागि एसपीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहँदा सरुवाको निर्णय लम्बिएको छ । झापामा एसपी मिलन केसीले दाबी गरिरहेका छन् ।एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी नेताहरूलाई फकाएर उनी झापा जान लागेको स्रोत बताउँछ। उनी विवादास्पद प्रहरी अधिकृत हुन् ।

यसअघि स्वयम्भू वृत्तमा कार्यरत रहँदा जेलमा गएर शंकास्पद रूपमा गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेटेकोमा उनी कारबाहीमा परेका थिए । कार्यक्षमतामा पनि कमजोर रहेका केसीलाई झापा जस्तो संवेदनशील जिल्लामा पठाउन लागिएको छ ।त्यस्तै, मोरङमा श्याम खत्री र श्याम राईबीच प्रतिस्पर्धा छ ।

पर्सामा कुमोध ढुंगेलको सम्भावना बलियो भए पनि अन्य केही एसपी पनि लागेका छन् । रुपन्देहीमा बसुन्धारा खड्कालाई पठाउने तयारी छ भने काभ्रेमा सन्तोष खड्काको सम्भावना रहेको स्रोत बताउँछ ।
त्यस्तै, सिराहा, महोत्तरी, बर्दिया, कैलाली, कञ्चनपुर, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, धनकुटा, धादिङ, तनहुँ, गोरखा, स्याङ्जा, गुल्मी, पाल्पा लगायत जिल्लाका एसपी पनि हेरफेर हुँदै छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर