भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौदेखिको पानीको समस्या हटेको हो ।

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज’ले अन्नपूर्ण बाख्राङ बाहुन गाउँ खानेपानी आयोजना निर्माण गरिदिएसँगै यहाँको पानीको समस्या अन्त्य भएको हो । खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले हालै उदघाटन गर्नुभयो । आयोजना निर्माण गर्न दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ(३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।

आयोजना निर्माणमा ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताए । ६ वटा मुहानबाट संकलन गरेर बस्तीसम्म पानी ल्याइएको हो ।

आयोजनाको पाइप लाइन २६ हजार ९५ मिटर रहेको छ । यहाँ १५ संकलन ट्यांकी र नौ वितरण ट्यांकी निर्माण गरिएका छन् । गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको बताए ।

‘स्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन्’, उपाध्यक्ष राईले भने । चालू आर्थिक वर्ष २०८०–८१ मा थप ८० परिवारको घरमा पानी पुर्याउने लक्ष्य रहेको उनले बताए । कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । वि.सं २०७५ देखि आयोजना निर्माण थालिएको थियो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर