सुर्खेत । नेपाल प्रहरी श्रीमती संघले लोपन्मुख जाति राउटे समुदायमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । शनिबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ साङ्गेतडामा बसोबास गर्दै आएका अल्पसंख्यक राउटे समुदायमा खाद्यान्न तथा लत्ताकपडा बितरण गरिएको हो ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौको आयोजना र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको समन्वयमा राउटे समुदायका ४१ घर परिवारका १३७ जनालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले सेवा भावले अग्र पंक्तिमा अग्रसर भईरहने र सेवा नै धर्म हो भन्ने हेतुले नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानवीय सेवा प्रदान गर्ने भएकाले मानिसका आधारभूत आवश्‍यकता गाँस, बास, कपास मध्ये राउटे समुदाय खेती पाती नगर्ने, बिभिन्न ठाउँहरुमा सरिरहने, एकै स्थानमा नबस्ने हुँदा खाद्यान्न तथा लत्ताकपडाहरु वितरण गरेको बताइन् । राउटे समुदायलाई नै सोधेर उनीहरुको आवश्यक्ता अनुसार नै खरिद गरी खाद्य सामाग्री तथा लत्ताकपडा वितरण गरिएको अध्यक्ष कुँवरको भनाइ छ ।

राउटे समुदायका ४१ घरपरिवारलाई चामल ४२ बोरी, दाल ५७ के.जी., नुन ४२ पोका, खुर्सानी १ बोरी, बिष्कुट २० पोका, चाउचाउ ६ कार्टुन, सावुन १ कार्टुन, स्याम्पो ८० माला लगायत लत्ताकपडामा कम्मल २५ पिस, सेतो पटुका ५२ पिस र चोली ५० पिस वितरण गरिएको थियो ।

राउटे समुदायमा खाद्यान्न तथा लत्ताकपडा वितरण कार्यक्रममा दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही, नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर, उपाध्यक्ष रुपा थापा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरीष्ठ उपरीक्षक बीर बहादुर ओली, नेपाल प्रहरी श्रीमती संघ कार्य समिति सदस्य प्रेक्ष्मा गंगोल, नेपाल प्रहरी श्रीमती संघ सह-सचिव अनिता ढकाल अधिकारी, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश कार्य समिति सदस्य भुमिका तारमी घर्तीमगर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया!!

सम्बन्धित खबर