बागलुङ । बागलुङको पञ्चकोटस्थित सर्वसिद्धिधाममा पाँच हजार ५५५ किलोको महाघण्ट अनावरण गरिएको छ। सर्वसिद्धिधाममा आयोजित ब्रह्माण्डीय महायज्ञमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उक्त महाघण्ट अनावरण गरी पूजाअर्चना गरेका हुन्।

धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास भएको पञ्चकोटमा बुधबारदेखि सुरु भएको महायज्ञको गण्डकी प्रदेशका १०८ कन्याले शुभारम्भ गरेका थिए। अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाइमा महायज्ञ फागुन २३ गतेसम्म १५ दिन सञ्चालन हुनेछ।

महायज्ञमा २१ हजार ५५५ क्विन्टल धान्याचलसमेत गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी कमलयनाचार्यले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा नभएको ब्रह्माण्डीय महायज्ञ बागलुङमा पहिलोपटक हुन लागेको हो।

‘अहिलेसम्मको जानकारीअनुसार यस्तो ब्रह्माण्डीय महायज्ञ नेपालमा पहिलोपटक सुरु भएको छ,’ कमलनयनाचार्यले भने, ‘हजारौँ वर्ष पहिले कहिले भएको भए नेपालमा भयो, तर त्यो कतै इतिहासमा छैन्, महायज्ञको अध्यक्ष भगवान मुक्तिनाथ, संरक्षक भगवान पशुपतिनाथ, आह्वानकर्ता भगवान बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदी बहिनी रहनेछन्। यो एउटा अद्भूत संयोग रहनेछ।’

विश्वशान्ति कलश निर्माण गरिने

बागलुङ नगरपालिका—६ स्थित पञ्चकोटको एकीकृत विकासको काम सुरु भएपछि यो ठाउँ जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यका रूपमा विकास हुन थालेको छ। २०७१ सालमा महायज्ञ सञ्चालन गरेर विश्वशान्ति कलश निर्माणको काम शिलान्यास भए पनि काम पूरा हुन सकेको छैन।

१०८ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्तिहरू अटाउने गरी कलश निर्माणको काम अगाडि बढेको छ। कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको कमलनयनाचार्यले बताए। ‘४० फिट तलबाट कलशका लागि फाउन्डेसनको काम भैसकेर एक तला ढलान भैसकेको छ,’ उनले भने, ‘नेपालमै पहिलोपटक कालीगण्डकीको तटबाट विश्वशान्तिको सन्देश प्रवाह गर्ने गरी काम गर्दै छौँ।’

पञ्चकोटमा अहिलेसम्म ५० करोड बढीको पूर्वाधार तयार भैसकेका छन्। २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरूप धारण गरेको छ। यहाँ सिस महल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिलालगायतका संरचना निर्माण भइसकेका छन्।

साथै, गरुडनारायणको मन्दिर, हनुमानको मूर्ति स्थापना, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापनलगायतका कामहरू पनि सम्पन्न भइसकेका छन। ठूलो भौतिक र धार्मिक संरचनाहरू ताराजालकोट रहेको ठाउँमा निर्माण भइरहेका छन्।

पाँचवटा कोटहरूको एकीकृत विकासको रूप ‘पञ्चकोट’

पञ्चकोट विभिन्न पाँचवटा कोटहरूको एकीकृत विकासको रूप हो। यस क्षेत्रमा रहेका ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतीकात्मक रूपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामकरण गरिएको स्वामी ऋषि प्रपन्नार्यको भनाइ छ।

‘पाँचैवटा कोटहरूमा जान सहज छैन, संसारकोट निकै टाढा पनि पर्ने भएकाले त्यहाँ सजिलै पुग्न सकिँदैन,’ उनले भने ‘अहिले संरचनाहरू बन्दै गरेको ठाउँ ताराजालकोटको ठाउँ हो। सबै कोटहरूलाई एकैठाउँमा विकास गरी पञ्चकोट नामकरण गरिएको हो।’

महायज्ञको पहिलो दिन एनआरएनले पञ्चकोटको पूर्वाधार निर्माणका लागि ११ लाख ११ हजार १११ रुपैयाँ दिने घोषणासमेत गरेको छ। एनआरएनका महासचिव सोम सापकोटाले धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका निम्ति उक्त रकम सहयोगको घोषणा गरिएको बताए।

साझा धामको रूपमा विकास गरिने

धार्मिक हिसाबले यस क्षेत्र मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ मानिन्छ। नेपालमा भएका सबै गोत्रहरूको मूल पुरुषलाई पञ्चकोटमा स्थापना गरिने स्वामी कमलनयनाचार्य बताउँछन्। ‘यो कुनै एक भगवानको धाम होइन।’ पञ्चकोटलाई कुनै धार्मिकस्थल विशेषको विकल्पको रूपमा विकास गरिनेछैन सबैको साझा हुनेछ। यसको छुट्टै महिमा र गरिमा स्थापित हुनेछ,’ उनले भने।

प्रतिक्रिया!!

सम्बन्धित खबर