काठमाडौं । थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले श्रीमानलाई भने आफूले शिशु जन्माएको जानकारी दिएकी थिइन् । उनले टेलिफोनमा आफू सुत्केरी भएको र बच्चा र आफ्नो अवस्था सामान्य रहेको बताइकी थिइन् ।
खबर सुनेर श्रीमान खुसी भए । सरकारी जागिरको सिलसिलामा दोलखातिर रहेका उनी शनिबार बिहान काठमाण्डु आउने सुरुमा थिए । तर, राति नै शिशु चोरी आरोपमा जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले उनलाई पक्राउ गरेपछि श्रीमानको खुसी धेरै समय टिक्न सकेन ।
श्रोतका अनुसार प्रहरीले ती महिलाका श्रीमानलाई टेलिफोन गरी शिशु चोरी आरोपमा श्रीमती पक्राउ परेकोबारे जानकारी गराएको छ । यो खबर सुनेर उनका श्रीमान आश्चर्य चकित भएको एक प्रहरी अधिकृतले बताए ।
‘मलाई त बूढा हाम्रो बच्चा जन्मियो, हजुर बाबा बन्नुभयो भनेर फोन गरेकी थिई’, उनले प्रहरीलाई भनेका छन् ।
अत्याधिक रक्तश्राब भएपछि ती महिलालाई थापाथली प्रसूति गृहमा नै भर्ना गरिएको छ । सिंहले शुक्रबार काभ्रेकी एक महिलाको २६ दिनको शिशु चोरेर फरार भएकी थिइन् ।