काठमाडौं । नेपालबाट कस्तुरीको बिना चोरी–सिकारीमा संलग्न कोरियन गिरोहका एक सदस्यलाई जरिवानामै उन्मुक्ति दिएको भन्दै काठमाडौं जिल्ला अदालतका न्यायधीशविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ । १५ वर्ष कैद सजाय हुने कोरियन नागरिक जंग जुन जुनलाई काठमाडौं जिल्ला अदालतले पाँच लाख मात्र जरिवाना हुने फैसला गरेको थियो । यो फैसला न्यायाधीश विनोद खतिवडाले सुनाएका हुन् । यही मुद्दामा उनीविरुद्ध न्यायपरिषद्मा उजुरी परेको हो ।

कार्यसम्पादन र न्याय निरूपणमा न्यायिक विचलन देखिएको भन्दै एन्टिकरप्सन नामक विश्वनीति प्रकाशमानसिंह पाख्रिनले गत १० फागुनमा उजुरी दर्ता गराएका हुन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारका आधारमा उनले उजुरी दिएका हुन् । बिनाको खागसहित पक्राउ परेका अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई न्यून जरिवाना गरिएकोमा अनुसन्धान अधिकारीले समेत फैसलाप्रति असन्तुष्टि जनाएका थिए ।

जिल्ला न्यायाधीश खतिवडाको इजलासले गत २१ असोजमा उनलाई दोषी ठहर गरी २६ असोजमा सजाय सुनाउँदै पाँच लाख रुपैयाँ मात्र जरिवानाको फैसला गरेको थियो । डिभिजन वन कार्यालय, काठमाडौंले १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो । कोरियन नागरिक जुन पक्राउ पर्नुलाई प्रहरी र वनका अधिकारीले ठूलो सफलता मानेका थिए । सो गिरोहले नेपालमा सयौँ कस्तुरी मारेर बिना तस्करी गरेको अनुसन्धानमा खुलेको थियो ।

नेपालबाट कस्तुरीको बिना लिएर कोरिया जान लागेका जुन १३ असार ०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । उनले लगाएको जुत्ताभित्र बिना लुकाएर कोरिया लैजान खोज्दा उनको साथबाट सात सय १६ ग्राम कस्तुरीको बिना बरामद भएको थियो । सो परिमाणको बिना संकलन गर्न करिब १० वटा कस्तुरी चोरी– सिकारी आवश्यक हुने वनका अधिकारी बताउँछन् ।

साथै, बयानमा उनले सो बिना आफ्नो भएको र औषधिका लागि कोरिया लैजान लागिएको स्विकारेका थिए । सोही आधारमा उनलाई दोषी ठहर गरिएको थियो, तर सजाय भने न्यूनतम गरेपछि फैसलामाथि प्रश्न उठेको हो । यही १३ फागुनमा उच्चका एक र जिल्लाका एक गरी दुई न्यायाधीश पदमुक्त भएसँगै पछिल्लो पाँच वर्षमा न्यायपरिषद्को सिफारिसमा बर्खास्त गरिएका न्यायाधीशको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर