काठमाडौं । सघन शहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुर अन्तर्गत शहरी विकास राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण बिना टेन्डर भएको, होडिङ्गबोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुविरुद्ध सो मुद्दा दायर भएको छ ।
तत्कालीन इन्जिनियर मदन राय, सव–इन्जिनियर सरोज कुमार यादवले उक्त निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झातामा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मुल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदन समेत प्रमाणित गरी निर्माण व्यवसायीलाई तीन लाख ४७ हजार रुपियाँ बढी भुक्तानी दिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, गुन्जा कन्स्ट्रक्सन, खडक–८, सप्तरीका प्रोपराइटर गोविन्द प्रसाद मन्डलले निर्माण कार्य सम्पन्न भएको भनी ठेक्का बिल, भरपाई लगायतका कागजात पेश गरेको तर शर्त एवम् सम्झौता बमोजिमको कार्य नगरी भएको भन्दा बढी कार्य मुल्याङ्कन गरी तीन लाख ४७ हजार रुपियाँ भुक्तानी लिएको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध बिगो समेत जफत हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।