लहान । नेपाल प्रहरीले सिरहामा १५ दिनको अवधिमा ५१ जना फरार प्रतिवादी पक्रेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरपछि फरार रहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जानकारी दिएको छ ।

कार्यालय प्रमुख एसपी सन्तोष आचार्यले सरुवा भएर आएको १५ दिनमा आफूले गरेको काम कारबाहीबारे जानकारी दिने क्रममा ५१ जनाको विवरण उल्लेख गरेका हुन् ।

पक्राउ परेका प्रतिवादीहरुलाई अदालतको फैसला कार्यान्वयनको निम्ति सम्बन्धित अदालतमा उपस्थित गराइएको छ । एसपी आचार्यका अनुसार २६ जना फरार अभियुक्तको मृत्यु भइसकेको पाइएको छ । 

पक्राउ परेका ५१ र मृत्यु भइसकेका २६ गरी ७७ जना फरार अभियुक्तको सम्बन्धित अदालतबाट लागत कट्टा गराइएको उनले बताए । जिल्ला अदालत सिरहाबाट दोषी ठहर भएका ३५ सय अभियुक्त अझै फरार सूचीमा छन् । पछिल्लो समय प्रहरी उपरीक्षक सन्तोष आचार्यको सक्रियतामा सिरहामा फरार अपराधीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

अपराध गरेर दोषी करार भइसकेका मानिसहरु पक्राउ नपर्ने र समाजमै रहने प्रवृत्तिले नराम्रो म्यासेज गएको छ । अपराध गरेर पनि उन्मुक्ति पाइन्छ भन्ने गलत मानसिकताले गर्दा अपराधलाई प्रोत्साहन भए जस्तो देखिएकाले सिरहा प्रहरीले अदालतबाट दोषी ठहर भएका अपराधीहरुलाई पक्राउ गर्ने विशेष अभियान लिएको एसपी आचार्यले बताए ।

‘अपराध गरेर समाजमा खुलेआम हिँड्न पाइन्छ, प्रहरी समाउन आउँदैन भन्ने नकरात्मक सन्देश जाने भएकाले यस्ता अपराधीलाई उत्मुक्ति नदिनको लागि पक्राउ गर्ने अभियान चलाएका हौँ,’ एसपी आचार्यले पत्रकार सम्मेलनमा भने, ‘यसले गर्दा प्रहरीको शान्ति सुरक्षा कायम गर्ने सवालमा पनि प्रश्न उठ्ने भएकाले अभियान चलाउनुपरेको हो ।’

अपराधी सामाजका अन्य मानिसहरु सँगसँगै जिउन पाउनु भनेको कानूनको धज्जी उडाएको जस्तो भएकाले पनि अपराधीहरुलाई खोजीखोजी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान चलाएकाले आगामी दिनहरुमा पनि यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याउने एसपी आचार्यले बताए । उनीहरुको खोजतलासलाई तीव्रता दिएको जनाउँदै भने, ‘ती फरार अभियुक्तहरुको तीव्र खोजीमा छौं । समाजमा दण्डहीनता मौलाउन दिँदैनौं ।’

सिरहामा बालविवाहको समस्या विकराल रहेको बताउँदै उनले पछिल्लो १५ दिनमा दुई वटा बालविवाह रोकिएको जानकारी दिए ।

त्यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या पनि भयावह रुपमा पाइएको छ । यससम्बन्धी चार हजार मुद्दा दर्ता रहेको जानकारी दिँदै एसपी आचार्यले मिटरब्याजको उजुरीउपर कारबाहीलाई पनि तीव्रता दिइएको दावी गरेका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर