काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन्। उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने काँग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरे।

सरकारबाट हट्न नपाउँदै जो-जो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्ने काम काँग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रुपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उनको भनाइ थियो।

बुधवार अपराह्न पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले काँग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाए।

काँग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’ को नीति लिन पनि सुझाव दिए।

उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हर सम्भव प्रयास गर्ने पनि स्पष्ट पारे।

अब यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरुले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नुपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो।

प्रतिक्रिया!!

सम्बन्धित खबर