रौतहट । नेकपा एमालेले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ। रौतहटको चन्द्रनिगाहपुरमा बसेको एमाले मधेश प्रदेश कमिटीको बैठकले मधेश सरकारमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो।
मधेश प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल भएकाले स्वाभाविक नेतृत्व आफ्नो दलले पाउनुपर्ने निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए। मधेश र मधेशी जनताको समृद्धि एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै उनले त्यसका निम्ति एमालेको नेतृत्वमा सरकार बनाउन केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए।
एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनै पनि अवस्थामा मधेश प्रदेशमा आफ्नो दाबी छाड्न नहुने भन्दै यसका लागि आफूले पनि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भट्टराईले मधेशी जनताको जनमत एमाले नेतृत्वको सरकारका लागि भएकाे दाबी गर्दै गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निःसर्त एमालेलाई नेतृत्व दिनुपर्ने बताए।