काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीले त्रसित हुनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताएका छन्। सातौँ संस्करणको ‘एनसेल बाह्रखरी गल्फ एन्ड वियोन्ड’अन्तर्गत कर्पोरेट गल्फ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
सत्तासहकार्य फेरिएसँगै गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर आफूले व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीहरूलाई अनावश्यक दुःख नदिन कडा निर्देशन गरेको जानकारी प्रधानमन्त्रीले दिए।
नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने भन्दै उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले तपाईंहरूलाई ढुक्क हुन विशेष रूपले अपिल गर्दछु।’
नेपालमा केही भएको छैन र हुँदैन भन्ने नकारात्मक भाष्य स्थापित गर्न एउटा पक्षले खोजिरहेको प्रधानमन्त्रीको दाबी थियो। अघिल्लो वर्ष आफूले ऊर्जा र उत्साहसाथ थालनी गरेका कामबाट केही महत्त्वपूर्ण उपलब्धि हासिल भएको दाबी गर्दै उनले ती काम पूरा गर्न नयाँ टिम बनाएको बताए। यसले थप सकारात्मक नतिजा दिने प्रधानमन्त्रीको विश्वास छ।
सत्तासमीकरणमा हेरफेर भए पनि देशका प्रमुख राजनीतिक दलहरूबीच मुद्दाअनुसार सहकार्य गर्ने कुरामा आफूले कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत प्रधानमन्त्री दाहालले व्यक्त गरे। दलहरूबीच धेरै विषयमा राष्ट्रिय सहमति आवश्यक रहेकाले त्यो वातावरण बनाउने काममा आफू लाग्ने उनको आश्वासन छ।
पोखरा आउने–जाने सडकको दुरावस्थाको बारेमा सरकार पूर्ण जानकार रहेको भन्दै प्रचण्डले कामलाई तीव्रता दिन आफूले कडा ढंगले निर्देशन दिएको जानकारी गराए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको विषयमा प्रधानमन्त्रीले आफूले भारत र चीनसँग पहल गरिरहेको बताए। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता छ। सरकारले पनि सीधै भारत र चीनका जहाज पोखरा आउन सकून् भन्ने चाहेको छ र त्यसको लागि पहल गरिरहेको छु,’ उनले भने।