काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा खच्याकखुचुक देखिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले भने, ‘अहिले संसदमा अलिकति खच्याकखुचुक भएको तपाईंहरूले देख्नुभएको छ । संसदीय व्यवस्था हो ।’
‘कहिले माननीय मन्त्रीजीहरूले हिजो, अस्तीसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौं’, सभापति खतिवडाले भने, ‘हामी यति प्रतिवद्धता जाहेर गर्न चाहन्छौं । हामी संसदलाई बन्धक बनाएर जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन ।’
उनले भने, ‘एउटा संसदीय पद्धति अनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं अझ म त अनुरोध गर्न चाहन्छु । हामी अलि अप्ठ्यारो अवस्थामा छौं ।’
सभापति खतिवडाले कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘देश निर्माण गर्ने कुरामा अघि पनि भने पार्टीभन्दा माथि उठौं । संविधानमा केही कुरामा संशोधन गरौं ।’
‘समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔं’, उनले भने, ‘प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौं ।’
‘स्थिर सरकार बन्नसक्छ । नभए स्थिर सरकार नबन्ने भयो’, खतिवडाले भने, ‘सधैं टालाटुली बटुली । तपाईंले एउटालाई तान्ने, मैले एउटालाई तान्ने ।’
उनले भने, ‘तानातान गर्ने काम केही नहुने । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ ।’ उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।