काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालले अटोसम्बन्धी छुट्टै औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेको छ । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग यस्तो माग गरेको हो ।

नाडाको टोलीले स्वदेशमै स्थापना हुने सवारी साधन तथा अटोमोवाइलसम्बन्धी एसेमब्लिङ उद्योग, अटोमोवाइल स्पेयर पार्टस उद्योग, टायर उद्योग, लुव्रिकेण्टस उद्योग तथा व्याट्री उद्योगहरुको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गर्न मन्त्री भण्डारीलाई सुझाव दिएको हो ।
छुट्टै औद्योगिक क्षेत्र निर्माण गर्दा जसले एकै क्षेत्रबाट सम्पूर्ण अटोमोवाइल्स उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने नाडाले उल्लेख गरेको छ । त्यस्तै, नेपाल र भारतबिचको द्धिपक्षिय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगहरुलाई आकर्षित गर्न, नेपालमा व्यापार सहज बनाउन र विदेशी लगानीलाई आकर्षित गर्न नेपालमा इन्टरनेशनल इकोनोमिक जोन स्थापना गर्नुपर्नेमा नाडाको जोड छ ।
उक्त भेटघाट तथा छलफलमा नेपालमा धमाधम दुईपांग्रे सवारीसाधनका एसेम्बलिङ उद्योग खुलिरहेको र चारपांग्रेका पनि खुल्ने क्रममा रहे पनि सरकारको अस्थिर नीतिले व्यवसायीलाई अलमल्याएको बारे छलफल भएको नाडाले जनाएको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेकोले अटोमोबाइल उद्योगलाई अघि बढाउनका लागि स्थायी नीति ल्याउन आग्रह गरे ।
गोल्छाले सरकारले फागुन २५ को राजपत्रमार्फत एजेन्सी, संशोधन र एकीकरणसम्बन्धी पहिलो संशोधन जारी गरेको सन्दर्भमा त्यसका केही बुँदाहरु द्विविधापूर्ण रहेकोले स्पष्ट्याइदिन मन्त्री भण्डारीसँग आग्रह गरेका थिए । छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र उपे्रतीले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने निम्नलिखित नीतिगत सुझावहरु समेत प्रस्तुत गरे ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले राज्य व्यवसायीहरुको साथमा रहेको बताएका थिए । उनले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग गर्ने र नेपालीहरुको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरुले पनि रोजगारी सिर्जना गर्न आग्रह समेत गरे । उक्त छलफलमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, नाडाका केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, नाडाको सदस्य कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीबाट अभिमन्यू गोल्छा र एम.ए डब्लु इण्टरप्राइजेजबाट धर्वेन्द श्रेष्ठ समेतको उपस्थिति थियो ।







