वीरगञ्ज । नेसनल मेडिकल कलेजका एमडी सहनवाज अन्सारी र ल्याब इन्चार्ज सञ्जय साह थुनामुक्त भएका छन्।
कालोबजारी मुद्दामा दुवै जनालाई अदालतले थुनामा राख्न आदेश दिए पनि पर्सा प्रहरीले हाजिरी जमानीमा छोडेको हाे।
एमडी अन्सारी र ल्याब इन्चार्ज साहलाई हाजिरी जमानीमा छोडिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवम् डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
दुवै जना अस्पताल भर्ना भएको तथा स्वास्थ्यका कारणले प्रहरीले हाजिरी जमानीमा छाडेको उनले बताए।
‘अदालतबाट म्याद पनि प्रहरीले नै थप गराउने हो, स्वास्थका कारणले दुवैलाई हाजिरी जमानीमा छोडेका हौं,’ उनले भने, ‘अब हामीले बोलाएको बेला उहाँहरू आएपछि अनुसन्धान हुन्छ।’
यसअघि बुधबार अदालतले थप पाँच दिन दुवै जनालाई थुनामा राख्न आदेश दिएको थियो।
गत सोमबार नेसनल मेडिकल कलेजमा अनुगमनको क्रममा कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल भेटिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो।
उनीहरूलाई अदालतले यसअघि दुई दिन थुनामा राख्न आदेश दिएको थियो। पक्राउ परेका एमडी अन्सारी र ल्याब इन्चार्ज साह बिरामी भएको भन्दै वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए।