राजविराज । सप्तरीको फत्तेपुरमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बैंक लुटपाटको क्रममा सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका–५ का ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई पक्राउ गरेको हो।

गत बिहीबार राति बैंकको फत्तेपुर शाखामा लुटपाट गर्ने उद्देश्यले बैंकभित्र प्रवेश गरी खुकुरी प्रहार गरेर सुवेदीले सुरक्षा गार्ड फुयाँलको हत्या गरेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

प्रवक्ता न्यौपानेका अनुसार उनलाई प्रहरीको तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीले चितवनको लोथरबाट पक्राउ गरेको हो।

सुवेदीको साथबाट घटनामा प्रयोग भएको खुकुरी, घटनाको समयमा बोकेको झोला, लगाएको जुत्ता, पज्जा, सेन्डो, टोपी र सल, हेक्सो बलेड, रेन्च, पिलास, डोरीलगायतका सामान बरामद गरेको उनले बताए ।

पक्राउ परेका सुवेदीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको न्यौपानेले बताए।

प्रतिक्रिया!!

सम्बन्धित खबर