सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी पसलमा डकैतीको प्लान बनाइरहेका ४ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रबक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र कुमार पासवानको कमान्ड खटिएको टोलिले पक्राउ गर्न सफल भएका छन् ।

सिरहाको लहान नगरपालिका वडा नम्बर ७ बस्ने स्थानीय सुनचाँदी व्यवसायी विकास कुमार शारडाको जाहेरीले ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाले गएराती नै सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ को ईन्दल भन्ने इन्द्र नारायण चौधरी, लहान नगरपालिका वडा नम्बर २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र छिमेकी मुलुक भारतको पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर वडा नम्बर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डललाई पक्राउ गरेको हो ।
लहान नगरपालिका वडा नम्बर ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा खटेको विशेष प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
लहान नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४१ को दिनेश विश्वकर्मालाई मँगलबार नियन्त्रणमा लिई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।