काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी संसदीय दलको बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग भेटवार्ता गरेका छन् । आज (बिहीबार) बस्ने जसपा नेपालको संसदीय दल बैठकले सरकारले ल्याएको अध्यादेशको पक्षमा मत जाहेर गर्ने/नगर्ने निर्णय गर्ने छ ।

प्रतिनिधि सभामा दुई तिहाई बहुमतको नजिक रहेको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार राष्ट्रिय सभामा भने अल्पमतमा छ । जसपा नेपालले मत जाहेर नगर्दा अध्यादेश अस्वीकृत हुने निश्चित छ । अध्यादेशको बारेमा जसपा नेपाल रुष्ट रहेको छ । जसपाले पार्टीभित्र आन्तरिक कार्यदल बनाएर नै अध्यादेशबारे अध्ययन गरेको छ । राजकिशोर यादवको नेतृत्वमा बनेको कार्यदलले प्रतिवेदनसमेत बुझाइसकेको छ । आज बस्ने संसदीय दलको बैठकको उक्त प्रतिवेदनको आधारमा निर्णय लिने छ ।
यादव र देउवाबीचको भेटवार्तामा जसपा नेपालका उपाध्यक्षसमेत रहेका राजकिशोर यादव, कांग्रेस महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । कांग्रेस सभापति देउवाले जसपा नेपालसँग अध्यादेशको पक्षमा मत जाहेर गर्न आग्रह गरेका छन् । जसपा नेपालले पनि सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो ।
आज (बिहीबार) प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले पछिल्लो समय ल्याएको ६ वटा अध्यादेश निर्णायर्थ पेश हुँदैछ ।