काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गर्नुभएको हो ।
सभापति देउवाले भन्नुभयो, ‘‘हाम्रा हिमालहरु नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरुले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ । अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’’
उहाँले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरुप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरु हुन् । यि संघसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ ।’’
सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताउनुभयो ।